प्रिय सहिद कवि कृष्णसेन इच्छुक


रोशन जनकपुरी
“यस बेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यस बेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जम्लाहात जोडिरहेछन्
म तिम्रो वज्रमुठीलाई झन् सबल देख्न चाहिरहेछु
यस बेला केही थकित पाइलाहरू गलेर
माझ–बिसौनीमै वास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु
यस बेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा युगको हुङ्कार सुन्न चाहिरहेछु ।
व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए, मेरो युगको तरुण नायक ।
यस बेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधीबेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस सङ्क्रमणशील घडीमा
भोको पेटका ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न।
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न ।
(कृष्णसेन इच्छुकको ‘इतिहासको यस घडीमा ‘ नामक कविता )

प्रिय कवि !
अनेक गौंडा पार गरेर
अहिले हामी जहाँ पुगेका छौँ,
तिमीले छाडेर गएको भन्दा खासै भिन्न छैन,
वर्षौं पहिले,
तिम्रो सहादतको बेला
पोखिएका रगतका छिर्काहरु
अझै आलै भएजस्तो भान हुन्छ,
हेर न !
‘इतिहासको यस संक्रमणशील घडीमा,
भोको पेटका ऊर्जस्वी चेतनाहरुलाई
निधारबाट रगतका बाछिटाहरु पुछेर’
भद्र पुरुष,
तिमीले भने जस्तै
‘दयालु मुद्रामा विषालु खाजा पस्कि रहेछ ‘
तर भोका मानिसहरुको मुक्तिको महायात्राका
गीत गाउन,
प्रिय कवि !
यस युगलाई पनि
तिमि जस्तै एउटा नयाँ इच्छुक चाहिएको छ |
जेठ १३ गते सहिद कवि कृष्णसेन ‘ईच्छुकको स्मृति दिवस हो !
जन्म – वि.सं. २०१३ कार्तिक
सहादत – वि.सं. २०५९जेठ १३, महेन्द्र पुलिस क्लबमा कुटेर निर्ममतापूर्वक हत्या ।
लाल सलाम कमरेड कृष्णसेन इच्छुक !

ताजा खबर
धेरै पढिएको